दैलेख : दैलेखमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ । बुधवार दिउसो घरमा चट्याङ पर्दा दैलेखको आठबीस नगरपालिका–५ पिपलकोटका दुई बर्सिया बालक रोशन विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी सुनिल दाहालले जानकारी दिए ।
चट्याङ लागेर अन्य एक जना घाइते भएका दैलेख प्रहरी जनाएको छ । घाइते हुनेमा ४० वर्षीय कमला विष्ट रहेको प्रहरी प्रमुख दाहालले बताए । चट्याङका कारण अन्य दुई घरमा सामान्य क्षति भएको जनाइएको छ ।
दैलेखमा चट्याङका कारण पछिल्ला वर्षहरूमा मानवीय क्षति बढ्दै गएको छ । यहाँका ११ वटा स्थानीय तह मध्ये महाबु गाउँपालिकामा चट्याङले धेरै क्षति गर्ने गरेको छ । वार्षात याममा चट्याङबाट हुने क्षतिबाट बच्न प्रहरीले सचेतना जगाउँदै आएको छ ।






